popular post

पारिवारिक कथा "कुलतको परिणाम"

रामपुर नाम गरेको एक गाउँमा धनबहादुर नाम गरेका एक व्यक्ति र उसको परिवारहरु बसोबास गर्दथ्यो । धनबहादुरको परिवारमा दुई छोरी, एक छोरा र लोग्नेस्वास्नी गरी पाँच जनाको सदस्य थिए । धनबहादुरले आफ्नी श्रीमती र परिवारलाई धेरै नै माया गर्दथ्यो उसले आफ्नो प्राण भन्दा पनि बढी माया परिवारलाई गर्दथ्यो । धनबहादुरको श्रीमती पनि निकै राम्री थिईन् । धनबहादु्र आफ्नो परिवारसंग त्यसगॉउमा खुशीसंग बसेको थियो । उसको एउटा राम्रो नोकरी थियो । जसवाट उसको परिवारलाई दुई छाक खान र लाउन पुग्दथ्यो । धनबहादुर एउटा राम्रो फुटवल खेलाडी पनि थियो । ऊ निकै राम्रोसंग फुटवल खेल्ने गर्दथ्यो । उसको खेलवाट गॉउका सबै ब्यक्ति प्रभावित थिए । उसको खेल हेर्न वरपरका गॉउवाट आउने मानिसहरु उसले खेलेको देखेर चकित हुन्थे ।

धनबहादुर विस्तारै–विस्तारै रक्सीको कुलतमा लाग्न थाल्यो । एकदिन, दुईदिन गरी ऊ दिनहु जसो रक्सी पिउन थाल्यो । धनबहादुरको रक्सी पिएर शंका गर्ने बानी भने नराम्रो थियो । ऊ सधैं रक्सीमा मस्त रहन थालेपछि छदाछदैको नोकरीवाट उसले हात धुनुपर्यो अर्थात उसको रक्सी पिएर अफिस जाने वानीले गर्दा उसलाई नोकरीबाट निकाली दिए । धनबहादुको नोकरी गएपछि उसको परिवारलाई दुई छाक खान पनि धौ–धौ पर्यो । धनेको आयश्रोत भनेकै उसको जागीर थियो । त्यसबाहेक केही थिएन ।
त्यसपश्चात धनबहादुकी श्रीमती शारदाले घरखर्च चलाउनको निम्ति घरमै रक्सीपारी बेच्न थालिन । जसबाट उनीहरुको जिवीका फेरी चल्न थाल्यो । धनबहादुको नोकरी गएपछि ऊ घरमै बस्ने गर्दथ्यो । अब धनबहादुरलाई झन सजिलो भयो । रक्सी घरमै पार्ने हुनाले पैसा पनि तिर्न परेन , भनेको बेलामा खान पाउने भयो । बेच्नको लागि बनाएको रक्सी बिहानदेखि बेलुकासम्म खादै श्रीमतीसंग झगडा गर्दै बस्न थाल्यो । यसरी नै धनबहादुरको दिनचर्या बित्दै गयो ।
धनबहादुरले रक्सीको कुलतमा लागेकै कारणले विदेश जान पाएको मौका पनि गुमायो । धनबहादुरको राम्रो खेल देखेर उसलाई विदेशमा गई खेल्ने मौका पनि दिएको थियो, तर रक्सीमा फसेको धनबहादुर विदेश जाने दिन रक्सीमा मस्त भयो र उसको ठाउमा अर्कै ब्यक्तिले जाने मौका पायो । त्यसपछि उसलाई एउटा ठूलो कम्पनीले फुटवल कोचका लागि बोलायो तर ऊ गएन । रक्सीमा मात्तिने धनबहादुरलाई शंखा थियो कि उसको श्रीमती पोइला जाला भन्ने जसले गर्दा जीवनमा केही गर्ने दोश्रो मौका पनि उसले गुमायो ।
धनबहादुरको लत उसको श्रीमती शारदामा पनि पर्न थाल्यो । घरमा नै रक्सी पार्ने हुदा अलि–अलि गरी पूर्णरुपले उनी पनि रक्सी पिउने भइन् । पहिले–पहिले त बेलुका मात्र पिउने गर्थिइन । पछि–पछि भएपछि शारदा पनि श्रीमान जस्तै विहानदेखि रक्सी पिएर धनबहादुरसंगै झगडा गर्न थालिन । यसको असर छोरा–छोरी माथी पर्नगयो । छोरा–छोरी पढाईबाट बन्चित हुन थाले । आमा बुबा प्राय सधै रक्सीमा मस्त भई घरमा झगडा गर्ने, छोराछोरीको फि नबुझाइदिने गरेपछि कसरी उनीहरु पढ्न पाउथे ? विस्तारै–विस्तारै आमाबुबाका नकारात्मक असर छोरामाथी पर्न गयो । धनको छोरा सानो भएकोले उसले आमाबुबाको नकारात्मक क्रियाकलापलाई सकारात्मक रुपमा हेर्न थाल्यो । विस्तारी–विस्तारी धनेको छोराले पनि रक्सी पिउन थाल्यो । आमाबुबा रक्सीको कुलतमा नराम्रोसंग फसेकोले छोरालाई सम्झाउन सकेन र दिदीहरुले सम्झाउदा उसले बुझेन । आमा बुबाले नै पिइराख्नु भइको छ भने मैले किन हुदैन ? भनेर उ दिदिहरुसंग बाझ्ने गर्दथ्यो । पछि–पछि हुदै गएपछि उसले चुरोट, गाजा, र चरेश जस्तो लागू औषधको सेवन गर्न थाल्यो । आमा र बुबाको कारण उसको उज्यालो भविष्य अन्धकार तर्फ बढ्न थाल्यो । एक दिन त्यही कुलतको कारणले गर्दा धनको छोराको मृत्यु भयो । आफ्नो प्राण भन्दा बढी माया गर्ने र आफ्नो बुढेसकालको एक मात्र साहाराको मृत्यु हुदासमेत धनबहादुर र उसको श्रीमतीलाई चेत आएन । उनीहरु दुवैजना झन विहान देखि बेलुका सम्म रक्सीमै मस्त रहन थाले ।
धनबहादर र उसको श्रीमतीको चर्तिकला समाजभरि नै फैलियो । जसले गर्दा सामाजबाट उनीहरु घृणित हुनुप¥यो । छोरीको उमेर विवाह योग्य भै सक्यो । कसले विवाह गर्ला यदि यस्तै अवस्था सधैभरि रहिरहने हो भन्ने सम्म चिन्ता पटक्कै उनीहरुलाई थिइन । सधै यसरी अपहेलित र घृणित भई बाच्नु भन्दा मर्नु उचित ठानि धनेको जेठी छोरीले । फेरी आफु मरे भने कान्छी वहिनीको के हविगत होला भनि सोचिन र सधै यसरी बस्नु भन्दा एउटा असल केटाको हात समाई ईज्जतको जीन्दगी वितउनु धनेको छोरीले उचित ठानी ।
यसैबीचमा एउटा असल केटासंग उसको माया प्रीति गासिन पुग्यो । केही दिन पछि रक्सीमा झल्लु भएर धन र शारदाले छोरीको विवाहको लागि भनी केटा लिएर आए । उनीहरुले खोजी ल्याएको केटासंग कुनै पनि हालतमा आफु विवाह नगर्ने इच्छा कारण सहित उनले आमा बुबालाई बताईन । तर उसको कुरालाई वेवास्था गर्दै उनीहरुले आफुले खोजी ल्याएको केटासंग छोरीको इच्छाविपरीत टीकाटाला गरी विहेको दिन जुराए ।
विवाहको दिन धनबहादरको छोरी आफुले मनपराएको केटासंग भाग्छे । यता घरमा जन्ती आइसक्यो केटी छैन । धन र शारदा रक्सी पिएर झल्लु छन् । उनीहरुलाई केहि वास्ता छैन । उत केटाले बेहुली अर्कैसंग भागेको कुरा चाल पाउछ र केटी नलिइ नजाने र बेहुली नभए उसको बहिनी नै लाने अडान लिइ बस्छ । उसको यो प्रस्तावलाई रक्सीमा मस्त रहेका धन र शारदाले सहजै स्वीकार गरी कान्छी छोरीलाई उसको इच्छाविपरीत जबरजस्ती विवाहको मण्डपमा बसाल्छन् ।
दिदिको विवाहमा खुब नाचौला र रमाइलो गरौला भनेर सोचकी बहिनीलाई के थाहा आफै बेहुली भई बस्नुपर्ला भनेर ? उसको सम्पूर्ण इच्छा चाहाना सिसासरी चकनाचुर भयो । विदाइका बेलामा धन र शारदालाई उसको छोरीले धम्क्याहापूर्ण रुपमा भनेकी थिइन । तिमीहरुले मेरो इच्छाविपरीत मेरो चाहाना विनानै मेरो विवाह गरिदियौं यो मण्डपको केही सामान नफाल यो संगै तिमीहरुले मोरो लाश लानुपर्छ । यो मण्डपको रङ्गको नसुक्दै तिमीहरुले मेरो लाश देख्नेछौ ।
वास्तवमा त्यो मण्डपको रंग नसुक्दै विवाहको पाच दिन नवित्दै धनेको कान्छी छोरीले आत्माहत्या गरिन र यस स्वार्थी संसारबाट सदाकालागी बिदा लिइन । यति हुदा सम्मपनि उनीहरुलाई होस आएन । झन सधै विहान बेलुकै दिउसै दिनभरिनै उनीहरुको दिन चर्या रक्सीमै वित्न थाल्यो । कस्तो रहेछ यो लत आफ्नो प्राण भन्दा पनि बढी माया लाग्ने छोराछोरी मर्दा समेत चेत न आउने ? एक दिन धन र शारदाको कुकुर मरेझै मृत्यु भयो । क्षणिक आनन्द पाउनका निम्ति उनीहरु कुलतमा फसेर आफ्नो जीन्दगी नै नाश गरे । 

यो कथा कुलतमा लगेका धनबहादुर र उसको श्रीमतीको मात्र नभइ कुलतमा फस्नुभएका सम्पूर्ण परिवारहरुको हो । कुलतमा लाग्नाले धनबहादुरको परिवारको के गति भयो अर्थात कुलतको परिणाम कस्तो हुदोरहेछ ? भन्ने कुरा यस कथावाट स्पष्ट पार्न खोजेको हुँ । आफ्नो प्राण भन्दा बढी माया गर्ने, माया लाग्ने छोराछोरी मर्दासमेत केही वास्ता नहुदोरहेछ । क्षणिक आनन्द पाउन मान्छेहरु कुलतमा लाग्छन् तर जीन्दगी नै नष्ट हुन्छ भनेर लेखको मध्यमवाट कुलतमा फस्नुभएका आमाबुवा, काका काकी, दाजुभाई र दिदि बहिनी लगायत सम्पूर्ण व्यक्तिहरुलाई सचेत गर्नको निम्ति यो कथा लेखेको हुँ । आशा गर्दछु ज–जसले यो कथा पढ्नुहुनेछ । वहाँहरुले आफ्नो कुलतलाई त्याग्ने प्रयास गर्नुहुनेछ । यदि यो कथा पढिसके पश्चात थोरै मानिसले पनि आफ्नो कुलत त्याग्नु भएछ भने म सम्झनेछु मैले लेखेको कथा सार्थक भयो ।

लेखक
आसमन बस्नेत
गौर न.पा.–८, रौतहट
प्रकाशनः–हेटौडा सन्देश दैनिक पत्रिका
प्रकाशित मितिः– २०६५ पौष

No comments:

Post a Comment